जलेश्वर- प्रहरीले महोत्तरीको रामगोपालपुर नगरपालिका– ५ बाट १५० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदीप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन्। उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।