काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन्। मन्त्री भण्डारीले भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको सार्ने देखि ट्रेड लजिस्टिक घटाउने विषयमा छलफल गरेर फर्किएको मन्त्रालयका प्रवक्ता चण्डीप्रसाद घिमिरेले बताए।
मन्त्री भण्डारीले २३ गते बिमिस्टेक सम्मेलनलाई सम्बोधन गर्न भारत पुगेका थिए। सम्बोधनका क्रममा उनले बिमिस्टेकले भू–परिवेष्टित राष्ट्रको समुद्रसम्मको पहुँचको अधिकार सुनिश्चित गर्दै कनेक्टिभिटि, लगानी तथा क्षेत्रीय व्यापार विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएको घिमिरेको भनाइ छ।
भ्रमणका क्रममा उनले भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम एवं प्राकृतिक ग्यासमन्त्री हरदीप सिंह पुरीसँग भेटघाट गरी द्विपक्षीय हित तथा सम्बन्धका विषयमा छलफल गरेका थिए। भेटवार्ताका क्रममा मन्त्री हरदीप सिंह पुरीले नेपालको अनुरोधलाई कार्यान्वयन गर्न सकारात्मक प्रयास गर्ने बचनबद्धता व्यक्त गरेका छन्।
२४ साउनमा मन्त्री भण्डारी र प्रतिनिधिमण्डलका सदस्य, नेपाल आयल निगमका कार्यकारी निर्देशक तथा प्रशासन विभाग प्रमुख सहितको टोलीले दिल्लीस्थित भारतीय आयल निगमको निरीक्षण गरी त्यहाँको पूर्वाधार तथा सेवा प्रवाह प्रणालीको विषयमा जानकारी लिएको मन्त्रालयले जनाएको छ।
सो अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई इन्धन डिपोको स्थानान्तरण गर्ने र त्यसका लागि भारतीय पक्षले आर्थिक तथा प्राविधिक सहयोग जुटाउने विषयमा समेत छलफल भएको छ। यस्तै साउन २४ देखि २६ गतेसम्म भारतको विशाखापटनम, हल्दियार कलकत्ता बन्दरगाहको स्थलगत अवलोकन गरी त्यहाँ पोर्ट अथोरिटी पधाधिकारीहरुसँग छलफल गरेका छन्।
छलफलमा भूपरिवेष्ठित राष्ट्रको रुपमा नेपालको ट्रेड लजिस्टिक खर्च बढि भएको र नेपाली आयात–निर्यातकर्ताले भोग्नु परेको समस्याको बारेमा छलफल भएको थियो। छलफलमा ट्रेड लजिष्टिक खर्च घटाउने विकल्पको बारेमा छलफल भएको र पोर्ट अथोरिटीका तर्फबाट नेपालको ट्रेड लजिस्टिक घटाउने विषयमा कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै नेपाली प्रतिनिधिमण्डलको अनुरोध बमोजिम उक्त खर्च थप घटाउने विषयमा आफूहरु कलकत्तास्थित नेपाली महावाणिज्यदूतावासका पदाधिकारीहरुसँग छलफल गर्ने बताएको मन्त्रालयको भनाइ छ। यस्तै मन्त्री कोलकातास्थित महावाणिज्यदूतावासको निरीक्षण गरी दूतावासको काम कारबाहीलाई थप प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।