काठमाडौं– अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वायन गर्ने सन्दर्भमा बीभमा छाडिएका आयोजनाहरुलाई प्राथमिकता दिइने बताए। उनले शुक्रबार अर्थसमितिको बैठकमा बोल्दै अनगिन्ति आयोजनाहरु सरु गरेर छाडिएका र ती आयोजनालाई प्राथमिकतामा राखेर बजेट कार्यान्वायन गर्ने प्रतिबद्धता जनाए।
‘बजेटका सिद्वान्त र प्राथमिकता, नीति तथा कार्यक्रम महतज्यूले ल्याउनुभयो। माननीय वर्षमान पुनले बजेट ल्याउनुभयो कार्यान्वयन मैले गर्दैछु, अध्ययन, नभएका र स्रोत सुनिश्चितता नभएका परियोजनाहरू कार्यान्वयन गर्न गाह्रो छ,’ मन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनको सन्दर्भमा चालू परियोजना तोकिएकै समयमा सम्पन्न गर्ने प्रधानमन्त्रीज्यूको निर्देशन रहेको र सोही अनुसार सरकार अघि बढेको छ।’
यस्तै उनले सहकारीको समस्यालाई समाधान गर्नका लागि नियमक निकाय नभएको र नियमक निकाय छिटो ल्याउने प्रतिबद्धता गरे। यस्तै चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा सत्तापक्षका सांसद तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नै घुमाउरो पारामा राष्ट्र बैंकमाथि अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयको राष्ट्र बैंकमाथि प्रत्यक्ष दबाब देखिएको विषय साँचो नभएको बताए।
बैठकमा डा महतले अर्थमन्त्री पौडेल र गभर्नर महाप्रसाद अधिकारीको ट्युनिङ मिलेको बजारमा हल्ला रहेको बताएका थिए। त्यसको प्रतिउत्तरमा अर्थमन्त्री पौडेलले राष्ट्र बैंकलाई अर्थमन्त्रालयले अह्राउने नभएको बताए। ‘सरकारले राष्ट्र बैंकलाई यो गर, त्यो गरभनेर अह्राउने होइन। कानुनका जुन प्रबन्ध छन् तीनलाई बाहिरबाट हस्तक्षेप गर्ने होइन। तर राम्रो काम र मुद्दामा ट्युनिङ मिल्नु राम्रो हो,’ उनले भने।
यस्तै मन्त्री पौडेलले सेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ता सजग हुनुपर्ने बताए। ‘सेयर बजारमा लगानी गर्ने लगानी कर्ताले लगानीगर्नु पूर्व सम्बन्धित कम्पनीको बारेमा बुझेर मात्र कारोबार गर्नु होला। किनकी सेयर बजारमा लगानी गर्दा नाफा नोक्सान हुने हुन्छ। सेयर बजार अर्थतन्त्रको ऐना हो। यसमा बुझेर लगानी गर्दा पक्कै फाइदा छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।