काठमाडौं– नेपाल राष्ट्र बैंकले नियम उलङ्घन गर्ने आधादर्जन बढि बैंक तथा वित्तीय कम्पनीलाई कारबाही गरेको छ। गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासम राष्ट्र बैंकको नियम उल्लंघन गर्ने ६ वटा विकास बैंक र ३ वटा वित्त कम्पनीलाई कारबाहीमा गरेको हो।
राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अवधिमा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरेको कारबाहीको विवरण प्रकाशित गरेको छ।
उक्त कारबाहीमा विकास बैंकतर्फ कर्णाली विकास बैंक, नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट गरी ६ बैंक कार्बाहीमा परेका छन्। सो अवधिमा विभागको कारबाहीमा सिन्धु विकास बैंक २ पटक कारबाहीमा परेको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले सिन्धुका अध्यक्षलाई जिम्मेवार बनाउँदै साढे २ करोड रुपैयाँ हिनामिना भएको ठहर गरी कारबाही गरेको छ।
यस्तै राष्ट्र बैंकको नियम उलङ्घन गर्ने वित्तीयसंस्थामध्ये वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत पनि राष्ट्र बैंकको कारबाहीमा परेका छन्।
राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाको वार्षिक रूपमा कार्यतालिका बनाएर निरीक्षण तथा अनुगमन गर्छ। विभागले बैंक तथा वित्तीय संस्थाको स्थलगत, गैर–स्थलगत, सूक्ष्म र विशेष निरीक्षण तथा अनुगमन गर्छ। निरीक्षणका क्रममा सुपरिवेक्षकले औंलाएको विषयमा विभागले प्रमुख कार्यकारी निर्देशक, सञ्चालक समितिलाई नै जिम्मेवार बनाउँदै कारबाही गर्छ।
गत वर्षको चौथो त्रैमासमा कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात नपुग भएकोले २ हजार ५ सय ४६ रुपैयाँ ७२ पैसा जरिबाना तिरेको छ। विभागले नारायणी विकास बैंकको यसअघिकै शीघ्र सुधारात्मक कारबाहीलाई गत वर्षको चौथो त्रैमासमा पनि निरन्तरता दिएको छ।
यसैगरी कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई भने विभागले बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। कर्पोरेट विकास बैंकले राष्ट्र बैंकको नियम विपरीत आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण ढिलो पेस गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधिभन्दा ढिला हुने गरी सार्वजनिक गरेको र साधारणसभा समेत ढिलो गरेको थियो। नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराइएको हो।
यस्तै, सिन्धु विकास बैंकको राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात ३२.९० प्रतिशत अपुग हुँदा राष्ट्र बैंकले शीघ्र सुधारको कारबाही सुरु गरेको छ। बैंकले नियम विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको थियो।
व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुलउपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानि पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्य भएको हुँदा संस्थाको अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ।
यस्तै वित्तीय कम्पनीतर्फ रिलाइन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र बेष्ट फाइनान्सले ढिलो वित्तीय विवरण पेस गर्दा र साधारणसभा ढिलो गर्दा राष्ट्र बैंकले सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।