मेलम्ची- मेलम्ची नगरपालिकाले सञ्चालन गरेको नगरबस दुई महिनायता बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ।
नगरपालिका प्रमुख सहितको टोलीले असार ७ गते नै नगरको चार केन्द्रमा चार वटै बस चलाउन सुरु गरेको थियो। सिन्धुपाल्चोकको पश्चिम क्षेत्रमा रहेको एक मात्र मेलम्ची नगरपालिकामा नगरबस नचलेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्। मेलम्ची बसपार्कबाट शिखरपुर, तिपेनी, भोटेचौर, सिपाघाट र तालामाराङसम्म सञ्चालनमा ल्याइएको नगरबस अहिले नगर र गाउँमा पुग्न छोडेको छ।
मेलम्चीबाट शिखरपुर हुँदै नवलपुरसम्म पुग्ने अहिले कुनै पनि नगरबस सञ्चालन नआउनुका साथै नियमित चल्ने रुटको बससमेत सञ्चालन हुन नसक्दा हजारौँ सर्वसाधारण पैदल हिँड्न बाध्य छन्।
नगरपालिका वडा नं १० शिखरपुरका वडाध्यक्ष भक्तबहादुर खड्काले सडक बिग्रिएका कारण बस सञ्चालन रोकिएको बताउँदै सडक स्तरोन्नतिका लागि वडाबाट रु चार लाख ५० हजार छुट्याएको भए पनि वडाले सिधै सडक निर्माणका लागि खर्च गर्न नपाएकाले सडकको निर्माण हुन नसकेको बताए।
नगरपालिकाबाट सडक निर्माणका लागि केही समय अगाडि प्राविधिक पठाए पनि सडक निर्माण गर्न नगरपालिकाले पर्याप्त चासो नदिँदा यातायात सञ्चालन हुन नसकेको स्थानीयवासी बालकृष्ण दाहाल बताउँछन्।
नगरपालिकाभित्रका स्थानीयवासीलाई सुविधा दिन नगरबस सञ्चालन गरिएको भए पनि बर्खाको समयमा अधिकांश सडक जीर्ण भएको, जताततै पहिरो र हिलोका कारण समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए।
सधैँजसो बर्खाको समयमा तिपेनी र शिखरपुरका स्थानीयवासीले पैदल हिँड्नुपर्ने अवस्था छ। सधैँ बर्खाको समयमा अवरुद्ध हुने सडकको हैरानी व्यहोरेका सर्वसाधारण दीर्घकालीन समयसम्म टिकाउ हुनेगरी पर्याप्त बजेटका साथ सडक निर्माण गर्न नगरपालिका लाग्नुपर्ने बताउँछन्।
सडक अवरुद्ध र नगरबससमेत सञ्चालन नहुँदा शिखरपुरका स्थानीयवासीले उत्पादन गरेका तरकारीसमेत बोकेरै बजारसम्म लैजानुपर्ने अवस्था आएको कृषक लेखनाथ खतिवडाको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।