काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाँचौँ पटक अर्थमन्त्रीमा नियुक्त भएका छन्। पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोहमा शपथ लिएका हुन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए। प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए।
सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।
यससँगै ओली र पौडेलको यो सहयात्रा तेस्रो पटक हो। अर्थमन्त्रीका रुपमा भने पौडेलको यो पाँचौँ कार्यकाल हो। यस अघि पौडेल मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही– २ बाट निर्वाचित भएका थिए। सोबेला प्रचण्ड नेतृत्वको सरकार २०७९ पुस ११ गते अर्थमन्त्री बनेका थिए। तर कांग्रेससँग माओवादीको समीकरण बनेलगत्तै उनी ६४ दिनमै बाहिरिएका थिए।
यस्तै उनी २०७२ सालमा के केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री बन्दा पौडेल अर्थमन्त्री बनेका थिए। ओलीको दोस्रो कार्यकालमा सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री थिए। उनी बाहिरिएपछि २०७७ मा पौडेलले नै अर्थ मन्त्रालय सम्हालेका थिए।
त्यो उनको दोस्रो कार्यकाल थियो। २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए। सोही कार्यकालमा उनी उपप्रधानमन्त्री पनि भएका थिए।
यद्यपि, पौडेल २०६५ मा प्रचण्ड पहिलो पटक प्रधानमन्त्री बन्दा सोही मन्त्रिपरिषद्को सदस्य थिए पौडेल। उनी त्यतिबेला जलस्रोत मन्त्री भएका थिए। यसअघि पौडेल २०५३ मै पहिलो पटक मन्त्री भएका थिए। लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उनले युवा, खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। त्यसपछि २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए।
६३ वर्षीय पौडेल नेकपा एमालेका उपाध्यक्ष हुन्। एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा उनी महासचिव पनि बनाइएका थिए। ३० को दशकमा तत्कालीन मालेबाट राजनीतिक यात्रा सुरु गरेका पौडेल २०४७ मै एमालेको केन्द्रीय सदस्य बनेका थिए।
पौडेल २०५१ को प्रतिनिधि सभा निर्वाचनमा पाल्पा– ३ बाट निर्वाचित भएका थिए। त्यस्तै, २०६४ र २०७० को संविधान सभा निर्वाचनमा रुपन्देही– ४ बाट निर्वाचित भएका थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने रुपन्देही–२ बाट निर्वाचित भएका थिए। २०५६ को प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही– ३ मा पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।