काठमाडौं– काठमाडौं महानगरपालिकाले जेठ मसान्तसम्म कूल बजेटको ३६ प्रतिशतमात्र खर्च गरेको छ। सो अवधिमा महानगरले ३६.५५ प्रतिशत बजेट खर्च गरेको छ भने तीन क्षेत्रको बजेट खर्च शून्य देखिएको छ।
सो अवधिमा जलस्रोत तथा सिंचाईंमा २ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मध्ये जेठ मसान्तसम्म (११ महिना सकिँदासम्म) एक रुपैयाँ पनि खर्च नभएको महानगरका वित्त विभाग प्रमुख डा. शिवराज अधिकारी बताउँछन्। यस्तै भुमि व्यवस्थातर्फ ६ लाख रुपैयाँ र श्रम तथा रोजगारीतर्फ १० लाख रुपैयाँ विनियोजन गरिएको थियो। तर यी क्षेत्रको बजेट खर्च शून्य रहेको महानगरले जनाएको छ।
यस्तै सबैभन्दा बढी खर्च वित्तीय सुशासनतर्फ ७७ प्रतिशत, ऊर्जातर्फ ७० प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ६५ प्रतिशत खर्च भएको छ। महानरले चालू वर्षका लागि २४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ विनियोजन गरेकी थियो।
जेठ मसान्तासम्ममा ८ अर्ब ८० करोड ४३ लाख रुपैयाँमात्र खर्च गरेको छ। सो अवधिमा क्षेत्रगततर्फ सबैभन्दा बढी पूर्वाधार विकासतर्फ ३ अर्ब ४८ करोड र सामाजिक विकासतर्फ २ अर्ब १० करोड खर्च भएको छ। कार्यालय सञ्चालन तथा प्रशासनतर्फ २ अर्ब २४ करोड रुपैयाँ खर्च भएको महानगरले जनाएको छ।
आर्थिक विकासतर्फ २१ करोड र सुशासनतर्फ ७६ करोड रुपैयाँ खर्च भएको छ। सबैभन्दा बढी खर्च भवन, आवास र सहरी विकासतर्फ २ अर्ब ३१ करोड खर्च हुँदा शिक्षामा १ अर्ब ३६ करोड खर्च भएको छ भने यातायात पूर्वाधारमा ७२ करोड खर्च भएको छ।
पर्यटनतर्फ १७ करोड, स्वास्थ्यतर्फ १९ करोड, भाषा–संस्कृतितर्फ १८ करोड, सामाजिक सुरक्षा र संरक्षणतर्फ १६ करोड, सम्पदा पूर्वाधारतर्फ ३० करोड, वातावरण र जलवायुतर्फ ३५ करोड, शासन प्रणालीततर्फ १३ करोड तथा लैंगिन समानता तथा सामाजिक समावेशीकरणतर्फ ११ करोड रुपैयाँ खर्च भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।