काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता भएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले सरकारले ल्याउन लागेको बजेटको तयारीका विषयमा पनि राष्ट्रपतिलाई जानकारी गराएका छन्।
छलफलमा राष्ट्रपति पौडेलले प्रतिनिधि र राष्ट्रिय दुवै सदनमा हाल भइरहेको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। सहकारीका विषय उठाउँदै कांग्रेस लगायतका विपक्षी दलले सदन अवरुद्ध पार्दै आइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।