हेटौँडा- बागमती प्रदेश सभा सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ। यही वैशाख २१ गते दिउँसो १ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
सर्वदलीय बैठकमा प्रदेश सभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने उनले बताए।
संसद्मा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरुलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उनले जानकारी दिए। पाठकले संसद्को आगामी अधिवेशनका विषयमा पनि उक्त सर्वदलीय बैठकमा छलफल हुने बताए।
प्रदेश सभाको गत चैत १९ गते बसेको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिइसकेपछि यही वैशाख १२ प्रदेश सभाको चालु १३औँ अधिवेशन अन्त्य गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।