काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भए मात्रै मुलुक विकासको अभियानले तीव्रता पाउने बताएका छन्।
धनुषाको विदेह नगरपालिकामा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमाले नेतृत्वको बहुमतको सरकार निर्माण भएमात्रै मुलुकमा विकास अभियानले तीव्रता पाउने बताएका हुन्।
उनले एमालेको नेतृत्वमा बहुमतको सरकार नहुँदा चाहे अनुरुप काम गर्न कठिनाई भइरहेकाले २०८४ मा एमालेलाई सबैभन्दा ठूलो दलको रुपमा जिताउन आग्रह गरे। एमालेले बहुमत ल्याउनका लागि कार्यकर्ताहरुले अहिलेदेखि नै खट्नु आवश्यक रहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने र यसका लागि एमाले लागि परेको बताए। उनले एमालेले कृषि र सिंचाईमा बढी जोड दिएर काम गरिरहेको पनि बताए।
उनले भने, ‘एमाले सम्पूर्ण नेपालीको पार्टी हो, एमाले मधेसी पहाडी वा हिन्दु मुस्लिमको पार्टी होइन, नेपालमा बसोवास गर्ने सबै नेपालीको पार्टी हो। त्यसैले एमालेमाथी चौतर्फी आक्रमण हुँदा समेत यहाँका मधेसी जनता लगायत सम्पूर्ण नेपालीले बचाए र हामीले त्यो षड्यन्त्रलाई विफल पार्न सफल भयौं।’
कार्यक्रममा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सम्पूर्ण एमालेका नेता तथा कार्यकर्ताहरुले २०८४ मा देशको प्रधानमन्त्री र प्रदेशहरुको मुख्यमन्त्री एमालेको हुने सपना देखिरहेको बताए। यो सपना पूरा गर्नका लागि अहिलेदेखि नै लाग्नु आवश्यक रहेको बताए।
एमाले नेतृत्वको सरकार बनेसँगै व्याप्त रहेको गरिबी, अशिक्षाको अन्त्य गर्नु प्रमुख लक्ष्य रहने बताए। सचिव भट्टराईले पार्टीभित्रको सुदृढ एकताबाट नै देशलाई विकासको गतिमा अघि बढाउन सकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।