काठमाडौं- सभामुखहरूको भेलाले स्थिर सरकारका लागि निर्वाचन पद्धतिलाई नयाँ ढंगले सोच्नुपर्ने निष्कर्ष निकालेको छ।
पाल्पाको तानसेनमा आयोजित प्रतिनिधिसभा र सातै वटै प्रदेशका सभामुख, उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्ष सहितको अन्तर व्यवस्थापिका भेलाले गरेको निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सभामुख देवराज घिमिरेले बहुमत आउने निर्वाचन प्रणालीको व्यवस्था गरिनुपर्ने बताए।
'स्थिर सरकार हुनका लागि निर्वाचन पद्धतिलाई पनि नयाँ ढंगबाट सोच्नुपर्ने, निर्वाचन सरल र स्वाभाविक ढंगबाट लाने प्रबन्धहरू गर्नुपर्ने, निर्वाचित जनप्रतिनिधिहरूको स्थिर सरकार बन्नका लागि बहुमत आउने खालको प्रणालीको व्यवस्था गर्नुपर्ने', बैठकको निष्कर्ष सुनाउँदै उनले भने, 'यी विषयमा पनि अब बहस र छलफल गर्न जरुरी छ भन्ने कुराको हामीले निष्कर्ष निकाल्यौँ।'
अर्को अन्तर व्यवस्थापिका भेलाको आयोजना गण्डकी प्रदेश सभाले गर्ने निर्णय पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।