काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
अहिलेको राजनीति र नेपालको मौसम उस्तै-उस्तै रहेको टिप्पणी गर्दै उनले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न सक्ने अवस्था नरहेको जिकिर गरे। उनले भने, ‘राजनीतिक स्थायित्व देशलाई चाहिएको छ। तर हाम्रो पार्टीलाई उपेक्षा गरेर अघि बढ्न खोजे सत्ता गठबन्धनबाट बाहिरिन्छौँ।’
नेपालले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताउँदै देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने उल्लेख गरे।
‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ। तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस्। प्रष्ट रुपमा हामीले भन्न सकौँ। अध्यक्ष नेपालले भने, ‘राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हुनुपर्छ।’
देशको अर्थतन्त्रसहित सबै किसिमका समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताउँदै उनले सुशासन, सामाजिक न्याय र समानता, समृद्धि, उत्पादन, पुँजी निर्माण, उद्यमहरुको विकास, सिप सिकाउने, उद्यमशिलतालाई प्रोत्साहन दिन काम गर्नुपर्नेमा जोड दिए। नेपालले सरकारलाई दम्भ नदेखाउन चेतावनी समेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।