काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पूर्ण बहुमत दिलाउने गरी अभियान सफल बनाउन निर्देशन दिएका छन्। शुक्रबार काठमाडौंमा भएको पूर्वकर्मचारी समाज नेपालको छैटौँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको बताए।
उनले सरकार परिवर्तन भइरहने भए पनि कर्मचारीतन्त्र स्थायी हुने बताए। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर कर्मचारीहरुलाई हुने उल्लेख गर्दै कांग्रेस सभापति देउवाले सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुने पनि बताए। उनले नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट भएको बताए।
उनले भने ‘नेपालमा लोकतन्त्र प्राप्ति सहितका हरेक आन्दोलनमा कर्मचारीको ठूलो र महत्वपूर्ण भूमिका छ। सरकार परिवर्तन भइरहन्छन् तर कर्मचारीतन्त्र स्थायी हुन्छ। त्यसैले स्थायी सरकार पनि भनिन्छ। कर्मचारीहरुको मुलुक निर्माणमा अत्यन्त ठूलो भूमिका हुन्छ। जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने अवसर हुन्छ। सरकारको सफलता र असफलतामा कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ। नेपाली जनताको उन्नति, प्रगति नेपाली कांग्रेसको अपूर्ण अभिष्ट हो। यो उद्देश्य पूरा गर्न हाम्रो पार्टी सदैव दृढ संकल्पित छ। त्यसका लागि लामो समयसम्म सरकारलाई तपाईंहरुले दिएको अनुभव महत्वपूर्ण छ। आगामी निर्वाचनमा कांग्रेसलाई पूर्ण बहुमत आउने अभियानमा सफल गराउनुहुनेछ भन्ने विश्वास लिएको छु।’
कांग्रेस सभापति देउवाले पार्टी बलियो बनाउने काममा एकजुट भएर लाग्न आवश्यक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।