काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिस्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारणका बारेमा समिक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्ने बताएकी छन्।
सोमबार नेकपा(एमाले)ले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हिरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
उनले कम्युनिस्ट आन्दोलनको हिरक जयन्ती मनाउँदै गर्दा समग्र आन्दोलनको गहन समिक्षा गर्नुपर्ने बताइन्। उनले नेपाली कम्युनिस्ट आन्दोलनको पटक–पटक टुटफुट र विभाजन भएको भन्दै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदिय आकांक्षा, अवसरवाद र भड्काव हावी हुँदा भएको हो भन्ने सम्वन्धमा समिक्षा हुनुपर्ने बताइन्।
कम्युनिस्ट आन्दोलनको विभाजनको सन्दर्भमा ठोस निष्कर्ष निकाल्न नसक्दा भविष्यमा थप सफलता हासिल गर्न नसकिने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरुले लिएको नीति र आदर्शमा विचलित आएको छ कि भनेर बेलाबेलामा समिक्षा गर्नुपर्ने पनि बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्नु अबको मुल गन्तव्य भएको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले महत्वपूर्ण विषयहरुमा सबै राजनीतिक दलहरुले साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्ने बताइन्। उनले छिमेकी मुलुकहरु भारत र चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाएर विकासका निम्ति साझेदारी गर्नुपर्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।