काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संंघीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सवलीकरणमा एकतावद्ध हुन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।
सोमबार ललितपुरको गोदावरीथित सनराईज हलमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन्। अध्यक्ष ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिने मिल्ने अवस्था रहेको पनि बताए।
उनले विद्यमान व्यवस्थालाई माध्यम बनाएर सुशासन र विकासको काममा अघि बढ्नुपर्ने बताए। अध्यक्ष ओलीले पूर्वराज्ञा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै प्रतिगमनको कुरा गरेर कहीँ पनि पुग्न नसकिने बताए।
उनले सरकार र वर्तमान सत्तारुढ दलहरुले पनि मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्ने बताए।
ओलीले एमालेले नाजायज ढंगले कुनैपनि खालको अडान नराख्ने जिकिर समेत गरे। उनले तत्काल वामपन्थीहरु एकता हुने अवस्था नरहेको पनि दोहोर्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।