काठमाडौँ- नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण अभियानमा जुटन पार्टी पंक्तिलाई आह्वान गरेको छ। आइतबार गोदावरीको सनराइज हलमा सम्पन्न पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठक समापन समारोहमा एमालेले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण अभियानका लागि रकम जम्मा गर्नका लागि क्युआर कोर्ड सार्वजनिक गर्दै सो प्रस्ताव गरेको हो।
मुख्यतः पार्टी कार्यकर्ता र सहयोगीहरुबाट नै कार्यालय भवन निर्माण कार्य सम्पन्न गर्ने अभियान सुरु गरिएकाले त्यसमा साथ दिन पार्टीको सिंगो पंक्तिलाई आह्वान गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए। उनले पार्टीको क्युआर कोर्डमा तत्काल रकम जम्मा गरी पार्टी कार्यालय भवनको पहिलो दाता बन्न पनि पार्टी पंक्तिलाई आग्रह गरे।
नवीकरण र पार्टी सदस्यता विस्तार गर्दा प्रत्येक पार्टी सदस्यबाट सय रुपैयाँ अनिवार्य रुपमा संकलन गर्ने प्रक्रिया जारी रहेको र त्यो भन्दा बाहेक पार्टी कार्यालय भवन निर्माण गर्नका लागि योगदान गर्न सक्नेहरुबाट पनि सहयोग लिएर आधुनिक र भव्य कार्यालय भवन बनाउने आफूहरुको योजना रहेको महासचिव पोखरेलले बताए।
उनले भने, ‘पार्टीको आफ्नै कार्यालय भवन हाम्रो पार्टीको दशौं राष्ट्रिय महाधिवेशनकै योजनाको अंग थियो। कहाँ निर्माण गर्ने भन्ने दुविधाका कारण हामी अगाडि बढ्न सकेका थिएनौं। अब हामी त्यसको निष्कर्षमा पुगेका छौं। यद्यपि, केही प्राविधिक काम बाँकी रहेका कारण अहिले त्यो विषयको घोषणा गर्न गइराखेका छैनौं। तर हामी पार्टी कार्यालय भवन निर्माण पार्टी कार्यकर्ता र सहयोगीहरुबाटै गर्ने, जुन कुरा हामीले पार्टी सदस्यता नवीकरण र पार्टी सदस्यता विस्तारका अंग पनि बनाएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।