इलाम– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन्। शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज। अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु। मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको।’
उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे। उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए।
चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको उनको भनाइ थियो। उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए।
उनले चुनाव अघिको गठबन्धनले देशको राजनीतिलाई विकृत बनाएको जिकिर गरे। इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको उनको भनाइ छ।
उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो। चुनावक अघिको गठबन्धन बेइमानी हो। चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो। चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो। त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।