इलाम- राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले मुलुकमा विद्यमान ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने इलामका जनताले राप्रपा नेपाललाई मतदान गर्न आवश्यक रहेको बताएका छन्। यो मतदान भ्रष्टाचार ,बेतिथी र अराजकताको अन्त्यको श्रीगणेश हुने भन्दै बर्तौलाले अरुले हार्दा केही फरक नपर्ने भन्दै राप्रपा नेपालले हार्दा भ्रष्टाचार र मनपरितन्त्र विरुद्धको आवाज कमजोर हुने विचार व्यक्त गरे।
इलाम-२ को उपनिर्वाचनको क्रममा शुक्रबार विभिन्न स्थानमा आयोजित चुनावी प्रचार अभियानको कार्यक्रममा बोल्दै बर्तौलाले असफल व्यवस्था र प्रणालीको वकालत गर्नेहरुले निर्वाचन जित्दा यथास्थिति हावी हुने भन्दै त्यो दुर्भाग्यपूर्ण हुने समेत उनको धारणा थियो।
कार्यक्रममा बोल्दै पार्टीका सह-महामन्त्री तेजकुमार कुरुङ्वाङले मुलुकको वैकल्पिक शक्ति राप्रपा नेपाल भएको भन्दै असफल व्यवस्थाको अन्त्यको लागि इलामका जनता जाग्नुपर्ने बताए।
राप्रपा नेपालले इलाम-२ बाट गणेशबहादुर चौहानलाई उम्मेदवारको रुपमा खडा गरेको छ। फाफफोकथुम र माङ्सेबुङ गाउँ पालिका र देउमाई नगरपालिकामा राप्रपा नेपालले कार्यक्रम गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।