काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन्।
मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोहोर्याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको महासचिव पोखरेलको स्पष्टिकरण थियो।
उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको दोहार्याए।
शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा महासचिव पोखरेलले एमालेमा सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोहोर्याउने संकल्पका साथ नयाँ सत्तासमीकरण बनाएको उल्लेख गरे।
उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आईपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए। महासचिव पोखरेलले राष्ट्रको भविष्यलाई ध्यानमा राखेर एमालेले नयाँ सत्तासमीकरण बन्दा पनि महत्वपूर्ण मन्त्रालय लिने कुरामा अडान नराखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।