काठमाडौं- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।
सोडारीलाई माओवादी केन्द्र, एमाले, नाउपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद ताराप्रसाद जोशीले समर्थन गरेका छन्।
नेकपा एमालेले सोडारीको नाममा असहमति जनाउँदै आएको थियो। विकल्पमा, एकीकृत समाजवादीले कांग्रेसको समर्थनसहित दाबी पेस गर्ने वैकल्पिक उपाय अपनाउने तयारी गरेको थियो। तर एमालेले अन्तिम समयमा समर्थन दिएपछि सोडारीले दाबी पेस गरेका हुन्।
यसअघि गत चैत २३ गतेको आह्वान अनुसार वैशाख २ गते नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेस गरेका थिए। तर एउटै दलबाट दुई वटा दाबी पेस भएपछि प्रदेश प्रमुखले वैशाख ४ गते पुनः आह्वान गरेर बिहीबार बेलुका ५ बजेसम्मको समय दिएका थिए।
सोडारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्ने र उनले आजै सपथ लिने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।