काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भईरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुताले भएको जिकिर गरे।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको र आजसम्मसँगै काम गरेको पनि दोहोर्याए।
प्रधानमन्त्री दाहाललाई आफूले कुनै पनि राजनीतिक गतिविधिमा नछाडे पनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिए। अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनै पनि नराम्रो काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे।
उनले भने, ‘म त्यो विषयमा धेरै बोल्ने मुडमा छैन। कति बोल्ने एउटै विषयमा? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको अध्यक्ष र म। अहिले उहाँसँग नाम जोडेर प्रतिक्रिया आउँदा वाक्कदिक्क भइसकेँ।’
अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। त्यस अवसरमा उनले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।