काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु बिडम्वनाको विषय भएको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू पनि तेस्रो पटक विश्वासको मत लिन बाध्य भएको बताए।
प्रधानमन्त्री प्रचण्डले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महसुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे। उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको दाबी गरे। तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गर्दै उनले सरकारको पुनःगठन भइरहने बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक दलहरु अपासी समझदारीबाट जानेतिर भन्दा अस्वस्थ प्रतिस्पर्धामै जाने र त्यसको निम्ति विभिन्न किसिमका क्रियाकलाप गर्नेबाट हामी अहिले पनि मुक्त छैनौँ। जटिल परिस्थितिका बाबजुत प्रमुख शक्तिहरुको बीचमा समझदारी नै बनाएर मात्रै यो संविधान कार्यान्वयनलाई पनि राम्रोसँग गति दिन सकिन्छ, राजनीतिक स्थायित्व र विकासलाई पनि गति दिन सकिन्छ भन्नेमा म विश्वस्त छु।’
प्रधानमन्त्री प्रचण्डले सुरक्षा, न्याय र विकासका तीन वटै क्षेत्रलाई सुधार गर्न शासकीय सुधारका प्रयासहरु जरुरी ठानेर नै सरकारले संरचनागत सुधारमा जोड दिँदै आएको दाबी गरे। उनले देशको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको बताए।
उनले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभुति गर्न सकिने बताउँदै मुलुकको समग्र विकास, नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।