इलाम– नेपाली कांग्रेसका नेता डा शेखर कोइराला मंगलबार किराँत धर्म गुरु आत्मानन्द लिङ्देनसँग आशिर्वाद लिन उनको आश्रम पुगेका छन्।
उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले मंगलबार इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन्।
भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे।
गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने, ‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन। माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भूमिका खेल्नुभयो। अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस, म तपाईंको साथमा छु।’
जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशिर्वाद लिन आएको बताए। कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।