काठमाडौं- सत्ता गठबन्धन बदलिएपछि बहुमत सिद्ध गर्न प्रयासरत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल थप कठिनाइतर्फ धकेलिएका छन्। विश्वासको मतका लागि समर्थन गरिदेला भन्ने अन्तिम आस गरिएको हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट बहुमत नपाउने सम्भावना बढेको छ।
हानेपाले मंगलबार प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाउँदै समर्थन फिर्ताको जानकारी गराएको हो। ‘हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर राख्दै त्यस सरकारलाई हाम्रो नेपाली पार्टीले दिएको समर्थन फिर्ता लिएको व्यहोरा जानकारी गराउँदै आगामी दिनमा संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिकामा रही आम नागरिकको सेवामा रहने दृढ संकल्प लिएको अवगत गराउँदछु’, हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले पठाएको पत्रमा भनिएको छ।
यसअघि गत फागुन २३ मा कांग्रेसका ६ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको अवगत गराएका थिए। कांग्रेसले समर्थन फिर्ता लिएपछि नै मुख्यमन्त्री जम्कट्टेल प्रदेश सभामा विश्वासको मत लिनुपर्ने बाध्यतामा परेका थिए। त्यसपछि उनले विभिन्न दलहरूलाई फकाउनका लागि संवाद अघि बढाएका थिए।
बागमती प्रदेश सभामा ११० सदस्य छन्। त्यसकारण बहुमतका लागि ५६ सदस्य चाहिन्छ। सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग २१ सिट मात्रै छ। ऊ प्रदेश सभाको तेस्रो ठूलो दल हो। सत्ता गठबन्धनका अन्य दुई दलहरू एमालेको २७ र नेकपा एकीकृत समाजवादीको ७ सिट जोड्दा ५५ सिट पुग्छ।
मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले विश्वासको मत दिने सम्भावना तत्काल देखिँदैन। त्यसैले १३ सिट (सभामुखबाहेक १२) रहेको राप्रपा, ३ सिट रहेको नेमकिपा र २ सिट रहेको हानेपामध्ये कम्तीमा कुनै एउटा दलको मात्रै भए पनि साथ लिन सक्दा उनले बहुमत सिद्ध गर्न सक्थे। तर राप्रपा र नेमकिपाले विश्वासको मत नदिने प्रष्ट पारिसकेका छन्। मंगलबार मात्रै हानेपाले पनि समर्थन फिर्ता लिएपछि अन्तिम विकल्प पनि सहयोगी नबन्ने निश्चित जस्तै देखिएको छ।
२०७९ पुस २५ मा मुख्यमन्त्रीमा दाबी गर्नका लागि जम्कट्टेललाई एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले समर्थन दिएका थिए। जसकारण उनी त्यसै दिन मुख्यमन्त्री नियुक्त भएका थिए। त्यतिबेला संघीय सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको गठबन्धन बनेको थियो। बागमती प्रदेश सभामा पनि त्यसकै प्रतिबिम्बित हुने गरी गठबन्धन बनेको थियो।
एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको समर्थनमा २०७९ पुस १० मा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले फागुनमा गठबन्धन परिवर्तन गरी कांग्रेस, एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन गरेका थिए। त्यसको असर पुनः बागमती प्रदेशमा पनि परेको थियो। सरकारबाट एमाले र राप्रपा बाहिरिएका थिए। त्यसपछि कांग्रेस र एकीकृत समाजवादी लगायतका दल भित्रिएका थिए।
त्यतिबेला गठबन्धन परिवर्तन भए पनि प्रदेश सभामा बहुमतका निम्ति मुख्यमन्त्री जम्कट्टेललाई समस्या परेको थिएन। यसपटक भने उनी कठिनाइमा परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।