काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा स्वर्णिम वाग्लेले रास्वपा नेपाली राजनीतिको लोकतान्त्रिक मूल प्रवाहमा आइसकेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपा नेपाली राजनीतिमा स्थापित भइसकेको बताए। पछिल्लो पटक सरकारमा सहभागी भइसकेपछि रास्वपाबाट सरकारमा गएका मन्त्रीहरुले फिल्मको ट्रेलर सुरु गरिसकेको उनको भनाइ थियो।
उनले उपप्रधान एवं गृहमन्त्री रवि लामछिानेले गरेका कामहरु महत्त्वपूर्ण रहेको बताए। रास्वपाबाट सरकारमा गएका मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालका मित्र एवं सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको भन्दै रास्वपाले भ्रष्टाचारीहरुलाई नछोड्ने संकेत दिएको उनले दाबी गरे।
उनले आरती साहको मुद्दालाई टुंगोमा पुर्याउने प्रक्रिया सुरु भएको, सरकारले पन्छ्याएको आयोगहरु पुनः सक्रिय बनाउने काम सुरु गरेको, मिटरब्याज पीडितहरुदेखि सहकारीको समस्या समाधानका लागि आवश्यक काम अघि बढाएको पनि बताए।
उपसभापति वाग्लेले रास्वपा अभिमन्युझैँ चक्रव्युहभित्र पस्न मात्रै जान्ने र निस्किन नजान्ने नभइ चक्रव्युहभित्र पसेर पनि निस्किने रोडम्याप आफूहरुसँग रहेको दाबी गरे। उनले नीतिगत भ्रष्टाचार, ठेक्कापट्टामा भाग खोज्नेकुरामा पार्टी जोगिनुपर्ने बताए।
उनले जनताले एकैदिन पनि औंला ठड्याउने काम नगर्न पनि आग्रह गरे। यस्तै इलामको उपनिर्वाचनमा रास्वपाले जितेको खण्डमा त्यसले २०८४ को लागि उत्साहको मार्ग प्रशस्त गर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।