काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मिसन–२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताएका छन्।
महासचिव पोखरेलले मिशन–२०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट विचलित नहुने अडानसमेत राखे।
शनिबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले मिसन २०८४ लाई बलियो बनाउँछ भन्ने मान्यता र विश्वासको जगमा मात्रै नयाँ सत्ता समिकरणको यात्रा सुरु गरिएको पनि स्पष्ट पारे।
महासचिव पोखरेलले यसअघिको सत्तारुढ गठबन्धनले पार्टीमाथि गरेको घेराबन्दी तोडेर नयाँ सहकार्य सुरु भएकाले त्यसले पार्टीको मिशन–२०८४ लाई सफल बनाउन आधार तयार पारेको तर्क समेत गरे।
उनले एमालेको अर्जुन दृष्टि मिसन–२०८४ भएकाले अन्य विषयमा जस्तोसुकै त्याग गरेर अघि बढ्न पनि तयार रहेको बताए। मुलुकलाई सही बाटोमा अघि बढाउने काममा एमाले लाग्ने भन्दै महासचिव पोखरेलले सोही अनुसारको गतिविधि अघि बढाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।
त्यस अवसरमा महासचिव पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने काममा एमालेको प्रयास हुने पनि बताए। उनले एमाले सरकारमा नहुँदा सो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउन नसकेको जिकिर समेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।