काठमाडौं– मधेश प्रदेश सरकार पुनर्गठन भएको छ। शनिबार एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका हुन्। नियुक्त भएका सबैले शनिबार नै शपथ लिएका हुन्।
शनिबार राजकुमार लेखी- गृह, सञ्चार तथा कानुन, शत्रुधन सिंह- स्वास्थ्य तथा जनसंख्या, प्रमोद जयसवाल- शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका हुन्। त्यस्तै, केशव राय (राज्यमन्त्री)- स्वास्थ्य तथा जनसंख्या नियुक्त भएका हुन्।
मन्त्री नियुक्त भएका जयसवाल पर्सा ३ (१) बाट स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए। उनी एमाले प्रवेश गरेको केही बेरमै मन्त्री नियुक्त भएका हुन्।
गत चैत ५ गते मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका मन्त्रीहरू बर्खास्त गरेका थिए। उनले त्यसै दिन एमालेका सरोजकुमार यादवलाई मन्त्री नियुक्त गरेका थिए।
शनिबारको पुनर्गठनसँगै प्रदेश मन्त्रिपरिषद् १४ सदस्यीय पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।