काठमाडौं- राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रसियाको मस्को शहरनजिक रहेको क्रोकस सिटीहलको कन्सर्ट हलमा आतंकवादी हमलामा परेर ६० जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको घटनाले स्तब्ध तुल्याएको बताएका छन्।
एक विज्ञप्तिमार्फत् उनले साँझको समयमा कन्सर्टमा रमाइरहेका निहत्था नागरिकलाई निशाना बनाउने आतंकवादी कार्यको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको बताएका छन्।
तिमल्सिनाले नेपाल शान्तिका अग्रदूत गौतम बुद्धको देश भएकाले सधै अहिंसा र शान्तिको पक्षमा रहेको बताएका छन्।
‘शान्ति र अहिंसाका पक्षधरहरुले विश्वका कुनै पनि देशमा हुने यस्ता आतंकवादी घटनाहरुको समर्थन गर्न सक्दैन’, उनले भनेका छन्, ‘रुसमा भएको आतंकवादी हमला शान्ति र अहिंसाका विरुद्ध गरिएको अमानवीय घटना हो।’
तिमल्सिनाले विश्वमा शान्ति कायम गर्न हरेक देशले आतंकवादी गतिविधिलाई निरुत्साहित तथा नियन्त्रण गर्न आवश्यक रहेको धारणा राखेका छन्। ‘साथै आतंकवादी गतिविधिका विरुद्ध एकजुट हुन सबैमा हार्दिक अपिल पनि गर्दछु’, उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।