काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन्।
सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य त लुकेको छैन? भन्ने प्रश्न उठेको कोइराला बताए।
'तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो', कोइरालाले भने।
काठमाडौंको मध्ये बानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहँदा आफूलाई अचम्म लागेको बताए।
हरेक परिवर्तनमा काठमाडौंबासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरुको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए।
स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरु राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।