काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्व अपरिहार्य रहेको बताएका छन्। शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उन यस्तो बताएका हुन्।
उनले न्याय क्षेत्रमा महिलाको सारभूत प्रतिनिधित्वको विषय दिगो विकासका लक्ष्य हासिल गर्ने तथा लोकतन्त्र, विधिको शासन, समानता र सामाजिक न्याय सुनिश्चित गर्ने महत्वपूर्ण आधार हुने उल्लेख गरे। न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति वा प्रतिनिधित्वको विषय संख्यामा मात्र नभई मानव अधिकार तथा न्यायका मूल्य मान्यता र आदर्शप्रति सम्मान एवं न्यायप्रतिको प्रतिवद्धता रहेको उनको भनाइ थियो।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको सम्माजनक उपस्थिति र प्रतिनिधित्वले समानताको प्रत्याभूति गर्ने बताए। उनले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थिति आफैँमा लैङ्गिक मान्यताप्रतिको परम्परागत सोच तथा लैङ्गिक मनोवृत्ति विरुद्धको बलियो प्रमाण भएको धारणा राखे। उनले न्याय क्षेत्रमा महिलाको सहभागिताले न्याय क्षेत्रमा समावेशी पारदर्शिता र न्यायिक सदाचारको प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रधानन्यायाधीश श्रेष्ठले कानुन व्यवसायमा महिला कानुन व्यवसायीको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको बताउँदै कानुन विषयको अध्ययन गर्ने महिलाको संख्या पछिल्लो समयमा उत्साहवर्द्धक रहेको उल्लेख गरे। सबैको प्रयास र प्रतिवद्धताबाट नै न्यायपालिका अहिले स्वभाविक लय र गतिमा हिँड्न थालेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।