काठमाडौं- प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध जारी छ। केही महत्वपूर्ण विधेयकसहित बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ।
संसद्मा विधेयकमाथि छलफल हुन नसेकको र राम्रोसँग प्रि-बजेटमा छलफल हुन नसकिरहेको समयमा सभामुख देवराज घिमिरे नेतृत्वको १० सदस्यीय टोली भने स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ।
यही चैत १० देखि १४ गतेसम्म जेनेभामा हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी हुन सभामुख सहितको टोली बिहीबार साँझ त्यसतर्फ प्रस्थान गरेको हो।
सभामुख घिमिरेको टोली स्वीट्जरल्याण्ड उडेपछि प्रतिनिधि सभा बैठक १० दिन रोकिएको छ।
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जनाएका छन्।
घिमिरेको नेतृत्वमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन्।
यस्तै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार रहेका छन्। साथै राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे पनि सो टोलीमा समावेश छिन्।
सभामुख घिमिरेले संसदीय कूटनीति, शान्ति र समझदारीको लागि सेतु निर्माणका विषयमा आफ्नो वक्तव्य प्रस्तुत गर्ने, सङ्घीय संसद्का महासचिवले सङ्गठनका बैठकहरूमा सहभागिता जनाउने सहायक प्रवक्ता धमलाले जनाएका छन्।
महासभामा सहभागी भई सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान ९ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ। सभामुख सहितको टोलीको जेनेभा भ्रमणका कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगित गरिएको छ।
सभामुख घिमिरे उपसभामुखलाई संसद् चलाउने अधिकार नदिई बैठक नै स्थगन गरेर स्वीट्जरल्याण्ड गए। जबकी, उपसभामुखले पनि संसद् बैठक सञ्चालन गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।