भक्तपुर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने दाबी गरेका छन्। एमाले बागमती प्रदेशले बिहीबार मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उनले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने बताए।
पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उनले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनामा टिकट दिने बताए।
ओलीले भने, ‘देश र जनताका काममा सक्रिय भएर लाग्नूस्। समाजको विकासमा लाग्नूस्। पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ। अब आउने पार्टीको अधिवेशनमा होस् वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन्।’
विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस् कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको उनले स्मरण गरे।
पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उनले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिए।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।