काठमाडौं– नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले आफूहरुको पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्ने भनि भ्रमपूर्ण प्रचारबाजि गरिएको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै संयोजक भट्टराईले नेपाल समाजवादी पार्टी नेकपा(माओवादी केन्द्र)सँग एकता गर्न लागेको भनी जालसाझिपूर्ण र भ्रमपूर्ण प्रचारबाजी गरिएको बताएका हुन्।
उनले पार्टीका केही व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका बताए। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा पार्टीका केही मान्छेहरु माओवादी केन्द्रमा प्रवेश गरेर पार्टी एकता भयो भन्नुले आफूहरु आश्चर्यचकित भएको उनको भनाइ छ।
उनले आफ्नो पक्षमा केन्द्रीय समितिको ७० प्रतिशत र केन्द्रीय कार्यकारिणी समितिको दुई तिहाई संख्या रहेको र निर्वाचन आयोगमा पनि आफैं अध्यक्ष भएको अभिलेख रहेको बताए।
संयोजक भट्टराईले शान्ति प्रक्रियालाई टुग्याउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नका लागि आफूहरु पुरानो पार्टीसँग सहकार्य गर्न तयार रहे पनि उनीहरुसँग मिस्सिने कुनै मनशाय नरहेको बताए। उनले नेपाल समाजवादी पार्टी आफ्नो सिंगो अभियानलाई छोडेर माओवादी केन्द्रसँग एकता नगर्ने स्पष्ट पारे।
संयोजक भट्टराईले अहिलेको तरिकाले भ्रष्टाचारको अन्त्य नहुने दाबी गरे। उनले कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने र कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने प्रवृत्ति रहेको बताए।
उनले आपसमा मिल्दाखेरी सबै साफ हुने प्रवृत्ति पनि रहेको भन्दै यसरी भ्रष्टाचारको अन्त्य नहुने स्पष्ट पारे। उनले सबै उच्च पदस्थको छानबिन र कारबाहीसम्म गर्न सक्नेगरी शक्तिशाली जनलोकपाल गठन गरेर भ्रष्टाचारीमाथि कारबाही गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘भ्रष्टाचारको अहिले जुन प्रकरणहरु भइरहेका छन्। यसरी अंश, अंशमा यो हल हुँदैन। कांग्रेस सरकारमा भएको बेलामा कम्युनिस्टहरुलाई भ्रष्टाचारी भन्ने। कम्युनिस्टहरु सरकारमा भएको बेलामा कांग्रेस भ्रष्टाचारी भन्ने अनि आफू चोचो मिलाएर फेरि सबै साफ हुने जुन प्रवृत्ति छ, यसरी भ्रष्टाचारको निवारण हुँदैन। त्यसको निम्ति अधिकारसम्पन्न जनलोकपालको व्यवस्था गरेर सबैमाथि, हामी पूर्वप्रधानमन्त्रीदेखि लिएर सबैको सम्पत्ति र गतिविधिको छानविन गर्न सक्ने र आवश्यक पर्दाखेरी सबैलाई कारबाही गर्नसक्ने यस्तो शक्ति सम्पन्न जनलोकपाल हुनुपर्छ भन्ने हाम्रो भनाई हो। त्यसले मात्रै भ्रष्टाचार निवारण हुन्छ। नत्र आफू सत्तामा भएको बेलामा अर्कालाई आरोपित गर्ने, अनि आफ्नो ढाकछोप गर्ने जुन प्रवृत्ति छ, यसले भ्रष्टाचार झन मौलाउँछ।’
उनले पुराना पार्टीहरुसँग चुनावी तालमेल गरेका कारण जनतामा भ्रम परेको भन्दै अब पार्टीलाई पुरानो पार्टीहरुको संसर्गबाट टाढा राख्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।