काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सुन तस्करी प्रकरणमा हालै पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराबारे टिप्पणी गरेका छन्। उनले पञ्चायतकालको एक प्रसंग स्मरण गर्दै आफैंले पालेको खसी काटेर चोखिन खोजिएको हो कि भन्ने आशंका व्यक्त गरे।
‘मलाई सम्झना आउँछ। पञ्चायतकालमा एकचोटी राजाका एडीसी र तत्कालीन प्रहरी प्रमुख नै समातिएका थिए। म पत्रकारितामा पनि रुचि राख्थेँ। त्यतिबेला राजेश्वर देवकोटा भन्ने पञ्चायतका ठूलै नेता हुनुहुन्थ्यो। उहाँको अन्तर्वार्ता लिन जाँदा त्यस घटनाबारे भन्नुभएको थियो- बाबु, आफूले पालेको खसी काट्नु कुन ठूलो कुरा हो? राजाको शासनकालमा त्योभन्दा धेरै बोल्नुभएन। अहिले यी सबै प्रकरणमा पनि आफैंले पालेको खसी काटेर चोखिन खोजेको त होइनन् भन्ने आशंका जनतामा जन्मिएको छ’, उनले भने।
भट्टराईले सबै अनियमितता छानबिनका लागि एउटा उच्चस्तरीय अंग बन्नुपर्ने बताए। त्यसले सबैमाथि छानबिन गरेर स्वतन्त्र र निष्पक्ष ढंगले कारबाही गर्ने हैसियत राख्नुपर्छ र गरिनुपर्छ भन्ने आफ्नो भनाइ रहेको बताए।
‘यहाँ त एउटा सत्तामा आएको छ, अर्कोलाई आरोप लगाएको छ। आफ्नालाई चोख्याउने र अरुलाई फसाउने हुन्छ। के हो के हो, ठेगान पनि छैन। फेरि साना माछा र ठूला माछा भन्ने कुरा पनि छन्। ठूला माछाको संरक्षणका लागि साना माछालाई फसाइएको पनि हुनसक्छ’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।