काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाएका छन्।
बुधबारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाए।
उनले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उनले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिए।
उनले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभनेको भए पदीय गरिमा जोगिने बताए। उनले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताए।
उनले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन सुरु गरेको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।