काठमाडौं- विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री नै अनुपस्थित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले आपत्ति जनाएकी छिन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा आफू बोल्ने बेलामा बाहिर गएको भन्दै अर्थमन्त्री पुनप्रति आपत्ति जनाएकी हुन्। सांसद लामाले अर्थमन्त्री पुनले राप्रपामाथि विभेदकारी नीति राखेर बाहिर गएको आरोप समेत लगाइन्।
यता सभाध्यक्षको आसनबाट उपसभामुख इन्दिरा रानाले अर्थमन्त्री पुन आफ्नो प्रतिनिधि राखेर खाना खान बाहिर गएको जानकारी दिँदै बोल्न आग्रह गरेकी थिइन्। तर सांसद लामाले अर्थमन्त्री नहुँदा कसलाई सुनाउने भन्दै नबोल्ने अड्डी लिइन्।
यसैबीच अर्थमन्त्री पुन बैठकमा पुनः आइपुगे। सांसद लामाले बैठकमा अर्थमन्त्री पुन आएकोमा धन्यवाद व्यक्त गर्दै राप्रपा बोल्न आउँदा भागेको हो कि भन्ने आफूलाई लागेको पनि बताइन्। त्यसपछि बोल्दै उनले पर्यटन, कृषि जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकलाई रोजगारीको अवसर सिर्जना हुनेगरी बजेट ल्याउन आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।