काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसद्को बैठक चल्न नदिने बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताए।
उनले कांग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिए।
उनले भने, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन। त्यसैले हामीले भन्यौं, उनले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ। पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको रवि लामिछाने हो कि गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन्। त्यही जस्तो लाग्छ, उहाँ चाहीँ दोषी होइन कि भनेर जवाफ दिनुभयो। हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौं। त्यो माग पूरा नगरे भोलिदेखि संसद चल्दैन, त्यो काम सरकारको हातमा छ।’
उनले संसद् अघि बढाउने वा नबढाउने भन्ने निर्णय सरकारको हातमा रहेको भन्दै चेतावनीसमेत दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।