काठमाडौं– शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि अम्मरबहादुर थापाले मनोनयन दर्ता गराएका छन्।
मंगलबार संसद् भवनमा नेकपा (एकीकृत समाजवादी) का सांसद थापाले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।
यसअघि पनि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति नेकपा (एकीकृत समाजवादी) बाटै वर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी थिए। जोशी मन्त्री बनेसँगै समितिको सभापति रिक्त थियो।
रिक्त पदमा एकीकृत समाजवादीकै सांसद थापाले उम्मेदवारी दर्ता गराएका हुन्। दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे।
उनले बाँकी दिनमा शिक्षामा रहेका जटिलताहरुलाई समाधान गर्नेगरी अघि बढ्ने बताए। उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता जनाए। उनले शिक्षामा प्रतिष्पर्धा कसरी गराउन सकिन्छ? भन्नेबारेमा आफूले कम गर्ने बताए।
थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन्। समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।