काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रमपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरेका हुन्।
उनले प्रधानमन्त्रीको लामिछानेलाई अनुसन्धान गर्नु आवश्यक नरहेको भन्ने जवाफले आफूहरुको चित्त नबुझेको बताए। उनले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न पर्याप्त प्रमाण भएको जिकिर गरे।
छानबिन गर्नुपर्ने र गर्नु नपर्ने तथ्यहरु बाझिएको भन्दै यसको छिनोफानो गर्नका लागि छानबिन समिति गठन गर्नु आवश्यक भएको उनको भनाइ थियो।
उनले भने, ‘गृहमन्त्री रवि लामिछानेजी यो सहकारीको रकम अपचलन गर्ने, ठगि गर्ने, दुरुपयोग गर्ने विषयमा संलग्न रहनुभएको छ भन्ने कुरा हामीले लगातार उठाएका छौं। यसै सदनले यसभन्दा अगाडि स्थापित गरिसकेको विषय कुनै पनि मन्त्री यदी कुनै अनुसन्धानको घेरामा आउनुभयो, प्रश्न उठ्यो, राज्यको कुनै सक्षम निकायले यदि अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो मन्त्री, मन्त्रीको पदमा रहन पाउनुहुन्न। रहनुहुन्न। त्यसकारण उहाँले राजीनामा गर्नुपर्छ भन्ने कुरा पनि हामीले उठाउँदै आएका छौं। हामीले निरन्तर गृहमन्त्रीको राजीनामा माग गर्दै प्रधानमन्त्रीको जवाफ मागिरहेका हौं। प्रधानमन्त्री सदनमा प्रस्तुत हुनुभयो। आफ्नो कुरा राख्नुभयो। प्रधानमन्त्रीको कुरामा हाम्रो चित्त बुझेन। चित्तबुझ्दो ठाउँ पनि पटक्कै भएन। बरु मलाई थप चिन्ता जाग्यो। प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइँदै छ। गलत सूचना प्राप्त हुँदैछ। प्रधानमन्त्री नै अध्याँरोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानविन होला? प्रधानमन्त्रीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ। म भन्छु कुनै होइन, पर्याप्त प्रमाण छ। यसको छिनोफानो कसले गर्छ? म आग्रह गर्छु अहिलेसम्म संसदको अभ्यासमा पनि भएको। संसदीय मान्यतामा पनि स्थापित भएको। यदि सदनभित्र छानविन समिति गठन गरौं। प्रमाण छ कि छैन त्यो पनि हेरौं। यदी सरकारले यि कुरालाई गम्भिरतापूर्वक लिएन, अगाडि बढाएन भने हाउस अवरुद्ध कांग्रेसले गर्दैन सरकार आफैंले सदन अवरुद्ध गरेको मानिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।