काठमाडौं- सत्ता साझेदार दलहरूले न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डले कार्यदलले तयार पारेको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गर्ने कार्यक्रम छ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका दुई-दुई जना नेता सदस्य रहेको कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको थियो। उक्त कार्यक्रम शीर्ष नेतालाई अध्ययनका लागि बुझाइएको थियो।
शीर्ष नेताको सुझावपछि प्रधामन्त्रीले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्। सरकारले यसैमा टेकेर नयाँ बजेट निर्माण अघि बढ्ने दाबी गरेको छ।
गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए।
कार्यदलमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी थिए।
कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल थिए।
कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीका साथै शीर्ष नेताहरूलाई बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।