काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर देशको समृद्धि नहुने बताए।
सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन्।
उनले निजी क्षेत्र र उदारवादलाई निषेध गरेर अगाडि बढ्न नसकिने दाबी गरे। नेपालमा समाजवाद भनेको जनतालाई पैसा बाँड्नु हो भन्ने भाष्य रहेको र सबै दलहरुले त्यसैमा प्रतिष्पर्धा गर्न लागिरहेका भन्दै ऋण लिएर पैसा बाँड्दैमा देशको समृद्धि नहुने उनको भनाइ छ।
उनले देशको समृद्धिका लागि निजी क्षेत्रको लगानीलाई निषेध गर्नु नहुने बताए। नेताहरुले देशलाई सिंगापुर, जापान, दुबई र कतार बनाउने भाषण गर्ने गरेका भन्दै ती देशहरु समाजवादी मुलुकमा विकास नभएको बताए।
सोभियत संघ र चीनमापनि उदारवाद अंगालेपछि मात्रै विकास भएको उल्लेख गर्दै उनले नेपालमा भने शास्त्रीय मार्क्सवाद पढाएर जनतालाई भुलभुलैयामा राखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।