काठमाडौं– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेकले सार्कलाई प्रतिस्थापन नगर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बिमस्टेक वडापत्रमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कको सट्टामा विमस्टेकलाई स्वीकार गरिएको होइन भनी प्रष्ट पारे।
उनले विमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने स्पष्ट पारे। उनले सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम रहेको बताए। उनले सार्कलाई पुनः क्रियाशील बनाउन सरकारले प्रयत्न गरिरहेको पनि बताए।
उनले भने, ‘सार्कको औचित्य र आवश्यकताका बारेमा नेपालको दृष्टिकोण र धारणा कायम छ । बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन। सार्कको सट्टामा बिमस्टेकको रुपमा हामीले यसलाई स्वीकार गरेका होइनौं। हामीले यस रुपमा लिदैनौं। सार्कको महत्व आफ्नो ठाउँमा छ। र सार्कलाई पुनः क्रियाशील गराउन र यसको सम्मेलनको आयोजना गर्न नेपाल सरकारले गरिरहेको प्रयत्नलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सरकार लागिपर्ने विश्वास सदनलाई दिन चाहन्छु। सार्कको औचित्य र आवश्यकता अनि महत्वलाई विमस्टेकले प्रतिस्थापन गर्न सक्दैन भन्ने सरकारको स्पष्ट दृष्टिकोण छ। सार्कलाई क्रियाशील बनाउन, सम्मेलन आयोजना गर्न पहल र प्रयत्नलाई अगाडी बढाउन हामी सम्पूर्ण प्रयत्न गर्ने विश्वास स्पष्ट पार्न चाहन्छु।’
उनले बिमस्टेकबाट नेपालले लाभ प्राप्त गर्नेगरी अगाडि बढ्ने कुरामा सरकार सकारात्मक रहेको मन्त्री श्रेष्ठले बता।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।