काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले विभिन्न सहकारीमा हजारौं मान्छेहरूको अर्बौं रुपैयाँ अपचलन भएको भन्दै अनुसन्धानको विषय बन्छ कि बन्दैन भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै थापाले त्यस्तो अपचलनमा गृहमन्त्री रवि लामिछानेको पनि नाम मुछिएको भन्दै अनुसन्धानको माग गरेका हुन्।
‘सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफैं मुछिनुभएको छ। यसको अनुसन्धान कसरी हुन्छ? यसको विश्वास हामीले कसरी गर्ने हो?’, थापाले भने।
थापाले सहकारीमा जसले ठगी गरेको भए पनि निष्पक्ष ढंगले अनुसन्धान हुनुपर्ने बताए। ‘कुनै एउटा प्रमाण नाश नहोस्। अहिले प्रहरीसँगै प्रमाणहरू छन्। पीडितहरूले जम्मा गरेर प्रमाण दिएका छन्’, उनले भने।
‘जो मुछिएको छ। ऊ आफैंले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने? त्यसैले प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। ओठे जवाफ होइन। जिम्मेवारीबोधका साथ जवाफ चाहियो’, थापाले थपे।
थापाले सहकारी ठगी प्रकरणमा राम्रोसँग अनुसन्धान हुने हो भने थुप्रै शक्तिशाली नेताहरूको पनि नाम आउने कुरा आफूले थाहा पाएको बताए। उनले थपे, ‘त्यसैले अनुसन्धान नियमित ढंगले, अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने कुरा कसरी पत्याउने?’
उनले गृहमन्त्रीलाई पनि अनुसन्धान टुंग्याउन आग्रह गरे। ‘यसलाई टुंग्याउन दिऔं। दूधको दूध, पानीको पानी हुन दिऔँ। नखाएको बिष लाग्नुहुँदैन’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।