काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन्।
आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंक गणितका आधारमा प्रस्तुति देखाइरहेको आरोप लगाए।
उनले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने बताए।
उनले सुन तस्करीको प्रकरणको सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन हुनुपर्ने धारणा राखे। आयोगको प्रतिवेदन सांसदहरुलाई बुझाउन पनि सरकारसँग आग्रह गरे।
उनले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।