काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानीकर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी कोषलाई निर्देशन दिएका छन्। आइतबार नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
अर्थमन्त्री पुनले लगानी कोषले दीर्घकालीन महत्वको पूर्वाधार निर्माण, ठूला आर्थिक वृद्धिका क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नुपर्ने बताए। विगतमा ठूला ऋण लगानी गर्दा भएका कमी-कमजोरीहरुलाई भविष्यमा नदोहोर्याउने प्रतिवद्धतासहित अघि बढ्न सुझाव दिए।
लगानी कोषले गरेका लगानीहरुमा लगानी कर्ताको पैसा नडुबोस् भन्ने जिम्मेवारी कोष स्वयंले लिनुपर्ने बताउँदै उनले देशमा विद्यमान समस्याको समाधान गरेर अघि बढ्नुपर्ने चुनौती त्यत्तिकै रहेको बताए। उनले आफ्नो संस्था, समाज, देशको समस्या आफैँले समाधान गर्नुपर्ने पनि बताए।
विगतमा भएका कामको आलोचना गर्नेभन्दा भएका कमजोरीहरुलाई सुधारेर जान सक्ने आत्मविश्वास अहिलेको नेतृत्वमा हुनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पुनले पूर्ववर्ती अर्थमन्त्रीहरुले सुरु गरेको राम्रो कामलाई आफूले निरन्तरता दिने दाबी पनि गरे।
राजनीतिक नेतृत्वमा समस्या रहेकाले राजनीतिमा शुद्धीकरण जरुरी रहेको बताउँदै उनले अहिलेको राजनीतिक नेतृत्वले नै शुद्धीकरण गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे। उनले प्रशासन संयन्त्रमा पनि शुद्धीकरण जरुरी रहेको धारणा राख्दै प्रशासन संयन्त्रको शुद्धीकरण बिना देशको आवश्यकता पूरा गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।