लहान– राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार भएको बताएका छन्।
पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको शनिबार उदघाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन्।
‘त्यसैले सरकारको नीति, बजेट र योजना समय अनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरुपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ’, उनले भने।
उनले रोजगारी र शिक्षाको लागि शहर पस्ने र शहर हुँदै विदेशीने प्रवृत्ति बढीरहेकाबेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढंगले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको बताए।
खासगरी वर्तमान विश्वपरिवेशको माग अनुरुपको शीक्षा नीति, पाठय्क्रम र प्रविधियुक्त प्रतिस्पर्धी, गुणस्तरीय पठनपाठनको विकास गरी राष्ट्रिय आवश्यकता तथा अन्तर्राष्ट्रिय गुणस्तरअनुरुपको शिक्षा प्रदान गर्नेतर्फ हाम्रो उपलब्ध शक्ति र सामथ्र्यको प्रयोग गर्न पनि राष्ट्रपति पौडेलले आग्रह गरे।
‘यहाँका विद्यालयले यसतर्फ स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी युग सुहाउँदो शिक्षा बालबालिकालाई प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउनुहुने मैले विश्वास लिएको छु’, उनले भने।
उनले विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा संवर्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ जहाँ हाम्रा सन्तति र कर्णाधारको भविष्य सुरक्षित हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।