काठमाडौं– सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएका छन्।
सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको हो। कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन्।
कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई कार्यक्रम बुझाइएको हो।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनिष सुमन सदस्य छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।