काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेप्रति निराधार अरोप लगाइएको बताएका छन्। शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामिछानेप्रतिको आरोप निराधार भएको दाबी गरे।
सहकारी सम्बन्धी केही प्रश्नहरु गृहमन्त्रीप्रति उठाइएको भन्दै उनले आधार देखाउन आग्रह गरे। सत्तापक्षमा रहँदा सबै ठिक र विपक्षमा रहँदा सबै बेठिक भन्ने कुरा राम्रो नरहेको उल्लेख गर्दै पार्टी सभापति लामिछानेमाथि कुनै आरोप र उजुरी नपरेको उनले दाबी गरे।
अर्यालले भने, ‘हाम्रो पार्टी सभापति र उपप्रधान एवं गृहमन्त्रीज्यूप्रति जे प्रश्न गरिएको छ, प्रश्न गर्नुभन्दा अघि केही आधार हुनुपर्छ। निराधार प्रश्न गर्न त पाइन्न। साथीहरुले सहकारी सम्बन्धी केही प्रश्न उठाउनुभएको छ। रवि लामिछाने कुनै सहकारीमा सदस्य हुनुहुन्न भन्ने उहाँहरुलाई थाहा छ। कम से कम त्यति त हेर्नुपर्ला।’
उनले कुनै राजनीतिक दलका नेताहरुले राजीनामा माग्दैमा दिनु नपर्ने भन्दै प्रमण भेटिए र दोषी भए आफैँ राजीनामा दिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।