काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर विधानलाई अन्तिम रुप दिएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानलाई अन्तिम रुप दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा विधानलाई व्यापक, वृहंगम रुपमा समृद्ध बनाई अन्तिम रुप दिएको जानकारी दिए। उनले छलफलबाट विधान परिपूर्ण र समृद्ध भएको बताए।
सापकोटाले भने, ‘दुई वटा एजेण्डा मात्रै थिए। एउटा विधान सम्बन्धी नै हो। मुलभूत रुपमा विधान अधिवेशनले पास गरेको मुल स्पिरिट त पहिल्यै पास भएको छँदै थियो, अहिले हामीले व्यापक, वृहंगम रुपमा त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्नका लागि छलफल गर्यौँ, छलफलले परिपूर्ण र समृद्ध भएको छ। आज त्यो फाइनल भएको छ।’
बैठकले राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित नारायण दाहालले पार्टी सदस्यताबाट दिएको राजीनामा स्वीकृत गरेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।