काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि शुक्रबारको संसद् बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। कांग्रेस सांसदहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नाराबाजी गरेपछि बैठक स्थगित गरिएको हो।
पहिलो बैठक स्थगित भएर दोस्रो बैठक सुरु भएसँगै सभामुखले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई अनुमति दिएका थिए। तर कांग्रेसका सांसद्हरु नाराबाजीमा उत्रिए।
कांग्रेसले बैठक चल्न नदिएपछि सभामुखले बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै बैठक स्थगित गरेको घोषणा गरे। अर्को बैठक यही चैत ४ गते आइतबार बिहान ११ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।